काठमाडौँ - राष्ट्रपति डा रामवरण यादवले विश्वका विभिन्न देशमा व्यवसाय गरेर बसेका नेपालीलाई जन्मभूमिप्रतिको कर्तव्य नबिर्सन आग्रह गरेका छन्। छैटौँ गैरआवासीय नेपाली विश्वसम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले आर्थिक, व्यावसायिक, बौद्धिक पुँजीलाई आफू जन्मेको मुलुकको विकासका लागि परिचालन गर्न अनुरोध गरे।
विदेशमा शिक्षा, व्यापारलगायत क्षेत्रमा नेपाल र नेपालीको गौरव र गरिमा कायम गर्न सफल भएपनि मातृभूमिको समृद्धिका निम्ति केही गर्नुपर्ने बेला आएको स्मरण गराउँदै राष्ट्रपतिले आफू जन्मेको देशको आर्थिक–सामाजिक विकासमा योगदान गर्नु गैरआवासीय नेपालीको पनि कर्तव्य भएको बताए।
“नेपाल र नेपालीको हित एवम् उन्नति कसरी गर्न सकिन्छ भन्ने भावनाका साथ एनआरएनहरूले काम गर्नुपर्छ,”– व्यक्तिगत उन्नतिलाई नेपालको राष्ट्रिय समृद्धिमा पनि योगदान गर्नुपर्ने धारणा व्यक्त गर्दै उनले भने।
पहिलो संविधानसभा संविधान जारी नगरी अन्त्य भएकोमा सबैलाई दुःख लागेको उल्लेख गर्दै उनले त्यसले तत्कालीन माओवादी लडाका र हतियारको व्यवस्थापन गरी शान्तिप्रक्रियाको प्रमुख कार्य सम्पन्न गर्नु सुखद भएको बताए।
विसं २००७ र २०४६ का जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्न नसकिए पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रजस्ता २०६२/२०६३ को आन्दोलनका उपलब्धिलाई विघटित संविधानसभाले संस्थागत गरेको उनको कथन थियो। पहिलो संविधानसभालाई पूर्णरुपमा असफल भन्न नमिल्ने उनको अभिमत थियो।
विगतबाट पाठ सिकेर नयाँ सोचका साथ अघि बढ्न जरुरी भएको बताउँदै उनले दोस्रो संविधानसभा निर्वाचनको सङ्घारमा मुलुक रहेको र त्यसलाई सफल पार्न गैरआवासीय नेपालीलगायत सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।
देशमा शान्ति, स्थायित्व, विधिको शासन एवम् आर्थिक विकास सुनिश्चित गर्ने दोस्रो संविधानसभाको महायज्ञलाई स्वतन्त्र, निष्पक्ष एवम् मर्यादित बनाउन सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीलाई एकजुट भएर लाग्न पनि राष्ट्रपतिले आह्वान गरे।
सोही समारोहमा राष्ट्रपतिले गैरआवासीय नेपाली अभियानमा योगदान गरेबापत नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यलाई प्रशंसापत्र प्रदान गरे।
विश्वसम्मेलन उच्चस्तरीय आयोजक समितिका संयोजक एवम् परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै गैरआवासीय नेपालीको बौद्धिकता, ज्ञान, सीप, अनुभव र पुँजी परिचालन गरी मुलुकको विकासका साथै नेपाल र नेपालीप्रतिको सामिप्यतालाई थप सुदृढ बनाउने उद्देश्यले सरकारले गैरआवासीय नेपालीसम्बन्धी नीतिगत, संस्थागत एवम् कार्यक्रमगत व्यवस्था गर्दै आएको बताए।
“सरकारले गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४ तथा गैरआवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ लाई गैरआवासीय नेपाली अभियानलाई व्यवस्थितमात्र गरेको छैन, विभिन्न सेवा, सुविधा र सहुलियत पनि उपलब्ध गराएको छ,”– गैरआवासीय नेपालीलाई सहजरुपमा नेपाल आवतजावत एवम् बसोबास गर्न र उनीहरूको पहिचान र सम्मान अभिवृद्धि गर्न सरकारीस्तरमा भएका प्रयासबारे जानकारी दिँदै मन्त्री घिमिरेले भने।
विदेशी लगानीसम्बन्धी नीतिलाई समायानुकूल बनाउने, गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने सम्बन्धमा सरकारलाई सुझाव दिन तथा गैरआवासीय नेपालीबीच सुमधुर सम्बन्ध कायम गर्न सङ्घको प्रतिनिधित्व रहने गरी सल्लाहकार बोर्ड गठन गरिएको, उच्चस्तरीय आर्थिक कूटनीति सञ्चालन तथा अनुगमन समिति र आर्थिक कूटनीतिसम्बन्धी 'फोकल प्वाइन्ट' मा पनि गैरआवासीय नेपालीको प्रतिनिधित्व रहेको उनले बताए।
“विदेशस्थित नेपाली नियोगहरूबाट प्रभावकारी र नतिजामूलक ढङ्गबाट आर्थिक कूटनीतिको सञ्चालनका लागि नियोग प्रमुखको संयोजकत्वमा गैरआवासीय नेपालीको प्रतिनिधित्व रहने गरी एक स्थायी संयन्त्र बनाउने निर्णय परराष्ट्र मन्त्रालयले भर्खरै गरेको छ,”– गैरआवासीय नेपालीलाई सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट गर्दै मन्त्री घिमिरेले भने।
दोस्रो संविधानसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहितरुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको तथा निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने विश्वास व्यक्त गरे।
मन्त्री घिमिरेले सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने र नवनिर्वाचित अध्यक्ष शेष घलेलाई सङ्घ दर्ताको प्रमाणपत्र हस्तान्तरण गरे। दश वर्षअघि स्थापना भएको सङ्घ विविध कारणले परराष्ट्र मन्त्रालयमा दर्ता हुन सकेको थिएन। हिजोको मन्त्रिस्तरीय निर्णयअनुसार सङ्घलाई उक्त मन्त्रालयमा दर्ता गरिएको हो।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष वैद्यले गैरआवासीय नेपालीलाई नेपालको सामाजिक– आर्थिक विकासमा योगदान गर्ने प्रशस्त स्थान रहेका बताउँदै जलविद्युत्, पर्यटन, पूर्वाधार निर्माणलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरे।
उद्घाटन समारोहमा पूर्वअध्यक्षहरू महतो, लामिछानेलगायतले आफूहरू जहाँ रहेपनि आफू जन्मे हुर्केको देशको समृद्धिमा लागिरहने प्रण गरेका थिए।