काठमाडौ, २ कात्तिक । गैरआवासीय नेपाली संघले विधान संशोधन गरेर दुई वर्षभन्दा बढी विदेश बस्नेलाई एनआरएन मान्ने भएको छ । विधान संशोधनपछि संघ दर्ताको बाटो खुलेको छ । संघको शनिबार भएको महाधिवेशनले सर्वसम्मत रुपमा विधान संशोधनको प्रस्ताव पारित भएको हो । एनआरएनए र सरकारी ऐनमा गैरआवासीय नेपाली सम्वन्धि परिभाषामा फरक हुँदा संघको दर्ता हुन सकेको थिएन । विदेशमा ६ महिना बसेकालाई एनआरएनको सदस्य बन्न पाउने प्रावधान संघको थियो ।
संघका अध्यक्ष जीवा लामिछानेले विधान संशोधनको प्रस्ताव राख्नुभएको थियो । उहाँले गैरआवासीय नेपाली संघको दर्ताको लागि बाटो खुलेको बताउनुभयो ।‘संघ दर्ताको औपचारिक बाटो खुलेको छ । हामी जतिसक्दो चाँडो दर्ताको प्रक्रिया अघि बढाउनेछौ,’ उहाँले भन्नुभयो, ‘नेपाल सरकारको ऐन र हामीले एउटै प्रावधान राखेका छौ । यसले लामो समयदेखि दर्ता हुन नसकेको संघलाई बाटो खुलेको छ ।’ भोलि सम्पन्न हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि सोमबार र मङ्गलबार छैटौँ गैरआवासीय नेपाली विश्व सम्मेलन हुनेछ ।
महाधिवेशनमा ५० मुलुकमा रहेका एक हजार ३०० भन्दा बढी प्रतिनिधि सहभागी छन् । विश्वका ६५ मुलुकमा सङ्घको राष्ट्रिय परिषद् गठन भइसकेको छ । एक दशकअघि सङ्घ स्थापना भएको हो । राष्ट्रपति डा रामवरण यादवले विश्व सम्मेलनको आगामी सोमबार उद्घाटन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा सामूहिक लगानी, वैदेशिक रोजगारी, परोपकार, गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता, निजी क्षेत्रसँगको साझेदारीलगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा प्रमुख दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरी उनीहरुसँग नेपालका लागि आर्थिक उन्नतिका विषयमा छलफलसमेत गरिने बताइएको छ ।