गुनासो, सान्दिदीसँग
सान्दीदी !
चित्त बुझेन, मन मानेन ।
तिमीसँग आज गुनासो पोख्छु ।
बाल्यकालमै तिम्ले गाँउ छोड्यौ,
शहरमा मान्छेको समुद्रछाल छिचोल्दै,
आयतनयुक्त मोती टिप्ने अभिलाषामा ।
अनी त चटक्कै बिर्सियौ है,
बेँसिको देउरालीमा ढुंगामाटोको पसल खेलेको,
मेरो पुतली तिम्ले चोर्दा घरपछाडी कुटाकुट गरेको,
गोठालो जाँदा चुत्रोको बोटमा दिनभरी झुन्डेको ।
मलाई अचम्म लाग्छ,
त्यती मायाले आँगनमा रोपेको त्यो लालुपातेको,
तिम्लाई कत्ती पनि सम्झना आएन ?
चिरौटे चौतारीको त्यो शितलताले,
शहरको गर्मीमा भतभती पोलेन ?
सान्दिदी !
तिम्ले गाँउ छोडेपछी,
यहाँ त अनौठो युद्द पो चर्कियो ।
हत्या, अपहरन भईरहन्थ्यो ।
नोखराज दाई पनि अब हामी माझ रहेनन ।
स्कुलबाटै अपहरन गर्थे हाम्लाई त !
धेरै चोटि सुनियो: सहउठान र आमुल परिवर्तनका भाषणहरु ।
उखुझ्याङ पछाडि एक दुइवटा लाश अनौठो लाग्दैन्थ्यो, सान्दिदी ।
हजुरबा त रातिराती हिंड्नुहुन्थ्यो, गाउबेशिको कामले ।
उहाँलाई सोध त,
यो कहालीलाग्दो रक्ताम्य युग हाम्ले कसरी काट्यौ ?
आँखिझ्याल पनि थुन्थ्यौ, साह्रै डर लाग्थ्यो;
अनी सासले बोल्थ्यौ सान्दिदी, सासले !!!
जनयुद्द, क्रान्तिको ज्वाला भन्थे,
पलपल होमिन उक्साउथेँ;
तर हामी त यसको रापमै जल्यौ, सान्दिदी !
सायद कहिल्यै नथाक्ने घाऊ बटुल्नलाई ।
गामबेशी गर्दै आफ्नो डोकेजीवनका,
पसिना चुहाउने बैशाखहरु यसरी कटे सान्दिदी ।
मनमा अझ थुप्रै पिडा छन,
नथाक्ने घाऊ त कती कती ।
गुनासा अझै बाँकी छन,
तिम्रो बियोग खप्न नसकेर
लालुपाते रुँदैछ,
देउराली सुसेल्दै छ,
चौतारी पर्खिरा’छ ।
एकचोटी गाउँ आउ है, सान्दिदी !!!